फाउन्डेशनको दृष्टिलाई टेवा दिने आधारहरू:
- पैरवी
- २१ औं शताब्दीका सामाजिक-राजनीतिक वातावरणीय र आर्थिक चुनौतिहरूलाई दिगो रूपमा पूरा गर्ने समावेशी नेतृत्व निर्माण गर्ने
- उद्यमशीलता
- नवीनता
- अनुसन्धान
- प्रविधि
फाउन्डेशनको दृष्टि प्राप्त गर्ने हाम्रो प्रयासहरुमा हामीले प्रक्रिया र परिणाम दुवैलाई समान महत्व दिन्छौं। हामी निष्ठा, पारदर्शिता, जवाफदेहिता, समावेशीता, र साझा नेतृत्वका मान्यताहरु द्वारा निर्देशित हुन्छौं| हामी फाउन्डेशनका सबै पक्षहरुमा यी मान्यताहरुलाई अभ्यास गर्न प्रतिबद्ध छौं।
१. निष्ठा: हामीले गर्ने कामहरू मार्फत हामी सबैलाई निष्ठावान हुन प्रेरित गर्न चाहन्छौं। हाम्रो मूल्य मान्यता बाट नचुकिकन इमान्दारीको साथ हाम्रो उदेश्यहरु तर्फ अघि बढ्ने छौँ। हामी अन्याय र पूर्वाग्रहको विरुद्धमा सधै सत्यको तर्फ उन्मुख हुनेछौं, एक्लै भएपनि यसको विरुद्धमा निरन्तर बोल्न वा लड्न पछि पर्दैनौं।
२. पारदर्शिता: हाम्रो प्रक्रियाहरुमा पारदर्शीता भएमा अरुले हाम्रो नियत र इमान्दारितालाई आफैले मुल्यांकन गर्न सक्छन् भन्ने हाम्रो विश्वास छ। इमानदारी र जानकारी साझा गर्ने संस्कृतिको प्रवर्द्धन मार्फत विश्वास जित्नको लागि हामीले हाम्रो योजनाहरु, निर्णयहरु र आर्थिक गतिविधि र प्रगतिहरुको बारेमा निरन्तर जानकारी गराउने छौं।
३. जवाफदेहिता: हामी हाम्रो समुदाय प्रति उत्तरदायी हुनेछौं। हामी सक्रिय रूपमा जानकारी उपलब्ध गर्नेछौं र कुनै पनि सञ्चार, सुझाव, र सोधपुछलाई स्वागत गर्नेछौं।
४. समावेशीताः “मानवता पहिले” भन्ने हाम्रो मार्गदर्शक मन्त्र सहित फाउन्डेशनले सबै धर्म, आस्था र विचारधाराहरूलाई सम्मान गर्दछ। हामी सबै व्यक्ति र समुदायहरूलाई फाउन्डेशनसँग सक्रिय रूपमा संलग्न हुन अनुकुल वातावरण र सुरक्षित ठाउँहरू सिर्जना गर्नेछौं।
५. साझा नेतृत्व: हामी एकअर्काको सबल पक्षहरु समेट्ने र फरक दृष्टिकोणहरू ल्याउने हेतुका साथ सहभागितामूलक निर्णय-प्रक्रिया अभ्यास गर्नेछौं। हामी सदस्यहरू बिच नियमित सञ्चार र समूह कार्य मार्फत स्वामित्वको भावनालाई विस्तार गर्नेछौं।
यी मूल्यमान्यताहरूका अतिरिक्त, फाउन्डेशनले उज्वल थापाले नेपाललाई रूपान्तरण गर्न सकिन्छ भनेर विश्वास गरेका मूल्यमान्यताहरुलाई पनि अंगालेको छ। ती मूल्यमान्यताहरू उनको आफ्नै शब्दमा निम्न अनुसार रहेका छन्:
निष्ठा: बोली र व्यवहारमा तादम्यता जब आउँछ तब मात्र उसलाई निष्ठावान भन्न मिल्छ र उसलाई समाजले सम्मान गर्छ। गुरुहरुको जस्तो ईमान्दार र सादा जीवनशैलीले सदैव समाज, देश र संसारलाई नै सामुहिक हितको मार्ग तर्फ धकेल्छ।
बिनम्रता: “मै मात्र सक्छु, मैले मात्र जानेको छु” जस्तो अहमताको भावनाले ग्रस्त नेतृत्वशैलीलाई पुजा गर्ने वर्तमान परीपाठीले हामी बस्ने संसारलाई नष्ट गर्दैछ । आफूभन्दा आफ्नो बरपरको संसारको बारेमा सोच्ने र सँधै विनम्र हुनसक्ने “गुरु”हरूले यसलाई सच्याउन आवश्यक छ। बिनम्रताले समाजको ध्यान “को ठीक भन्दा पनि के ठीक” भन्नेतर्फ निर्देशीत गर्दै लैजान्छ जसले गर्दा जीत-जीतको सम्बन्ध बनाई एक अर्का प्रति सम्मान गर्न सिकाउँछ।
समानुभूति: (अर्काको ठाउँमा बसेर सोच्न सक्ने क्षमता) विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति बोक्न सक्ने गुरु नागरिकहरुले नै यहाँका सयौँ भाषाभाषी र संस्कृतिलाई एकजुट राखी राख्नसक्छ। फरक सोच, विचार र व्यथालाई “समान” अनुभूति गर्न सक्ने सहभागितामुलक र सहिष्णु मानवताको संस्कार नागरिकहरुमा बिकास गरेमात्र हामी गुरु राष्ट्रमा परिणत हुन सक्छौँ।
साहस: नेपाली समाजमा व्याप्त अन्याय र अत्याचारलाई औँलो ढड्याउने नैतिक साहस ‘गुरु’नागरिकहरु भित्र हुनुपर्छ। बुद्धिको साहसिक उपयोग पछि मात्र कोहि विवेकशील गुरु बन्नसक्छ।
उत्कृष्टता: विविधताले ल्याउने उत्कृष्टतालाई कदर गर्न सक्ने व्यक्ति र त्यस्तो समाजले नै श्रृजनशील तथा नवीन प्रयोग द्वारा देशको सार्वभौमसत्ता, समाजको समवृद्धि र नागरिकको स्वाभिमानको रक्षा गर्न सक्छ। उत्कृष्ट नेतृत्व सदैव नागरिकहरुको हितप्रति जवाफदेहि रहन्छन्। जनता पहिला!
पारदर्शीता: बिचार र प्रणाली दुवैमा अपार पारदर्शीता राख्ने र खोज्ने नागरिकहरुको बिकास गर्न सके मात्र अहिले व्याप्त लूटतन्त्र र भ्रष्टाचारलाई जरै देखि उखेल्न सकिन्छ। यस्ता गुरु नागरिकहरु आफ्ना कामकार्य, प्रणाली, आर्थिक गतिविधि र निर्णयहरुमा निरन्तर पारदर्शी रहन्छन् र अरुबाट पनि सोहि अपेक्षा राख्छन् ।
~ “Guru Nation, Nepal” बाट