उज्वल थापा उपचार कोष: वितरण प्रतिवेदन

मे २०२१ मा, उज्वलको उपचार खर्चको लागी विश्व भरिबाट उदार हृदयका साथ शुभचिन्तकहरुबाट रु. ६७,८३,४८५.३४ सहयोग प्राप्त भयो। अन्ततः आर्थिक सहयोगको करिब एक तिहाइ रु २५,३१,२८३.६२ मात्र  खर्च भयो। उज्जवलको परिवारले, उज्वलको सिद्धान्त अनुसार, कोभिड-सम्बन्धित चिकित्सकिय र जीविकोपार्जनमा कठिनाइको सामना गरिरहेका अन्य नेपालीहरूलाई सहयोग गर्ने हेतुका साथ अतिरिक्त रकम यस्तै काम गरिरहेका संस्थाहरुलाई दिने निर्णय गर्नुभयो। साथीहरू र सहयोगीहरूको समूहले परिवारलाई सात संस्थाहरूलाई पहिचान गर्न र बचेको रकम वितरण गर्न सहयोग गर्नुभएको छ। यहाँ उज्वल थापा उपचार कोष: पारदर्शिता र वितरण प्रतिवेदनमा विस्तृत जानकारी पाउन सकिन्छ।

हामीले सहयोग गरेका संस्था र कृयाकलापहरु :

१. भोर नेपाल तराईका अति नै जोखिममा रहेका मुसहर समुदायका सदस्यहरुको उत्थानका लागि काम गर्ने अभियानमा केन्द्रित गैर-लाभकारी संस्था हो। सन् २०२० मा यस संस्थाले निम्न आय भएकाहरु, विशेष गरी गर्भवती महिलाहरुलाई लक्षित गरी कोभिड राहत वितरण कार्यक्रम मार्फत खाद्यान्न सामग्रीहरु तथा औषधीहरु वितरण गरेको थियो। 

प्रयोजनः सर्लाही जिल्लाका गर्भवती तथा सुत्केरी महिलाहरुलाई खाद्यान्न र स्वास्थ्य सम्बन्धी प्याकेज वितरण गर्नको लागि।

रकमः रु २,५०,०००
कार्यक्षेत्रः सर्लाही, प्रदेश नं २

२. हार्टबिटले शहरी निम्न आय भएका समुदायमा रहेको भोक तथा जीविकोपार्जनसँग सम्बन्धित कठिनाइहरुलाई घटाउनुको लागि गतिविधिहरु गर्न युवाहरुलाई परिचालित गर्दछ।

प्रयोजनः वुमन अन ह्विल्स, ललितपुर क्षेत्रका ४० महिलाहरुलाई खाद्यान्न राहत प्रदान गर्नको लागि थप श्रोत। कतिपय परिवारमा आर्थिक आय गर्ने एकमात्र सदस्यको रुपमा रहेका ती महिलाहरुले, यस महामारीको समयमा आफ्नो आय गुमाएका छन्।

रकमः रु २,००,०००
कार्यक्षेत्रः ललितपुर सहरी क्षेत्र, बाग्मती प्रदेश

३. मधेश ह्युमन राइट्स होम (माहुरी होम) कपिलवस्तु जिल्ला र बरपरका आदिवासी र अल्पसंख्यक जनसङ्ख्या लगायत विपन्न, सामाजिक रूपमा बहिष्कृत र उत्पीडितहरूलाई सशक्तिकरण गर्ने प्रतिबद्धताका साथ यस संस्थाको स्थापना भएको हो। सन् २०२०-२१ मा यस संस्थाले कोविडको प्रतिकूल सामाजिक प्रभावहरूलाई कम गर्नको लागि आफ्नो कामलाई पुनर्निर्देशित गर्‍यो: शवको विसर्जन, बिरामीहरूलाई स्थानीय अस्पतालहरूको आईसीयूमा पठाउने, अक्सिजन सिलिन्डरहरू खरिद गर्ने, र विद्यालय जान नपाएका बालबालिकाको लागि कपडा तथा कापी कलम वितरण गर्ने आदि।

प्रयोजनः कपिलवस्तुमा हालसम्म उपेक्षित घुमन्ते जनजाति नतुवा समुदायलाई सहयोग गर्नको लागि स्रोत प्रयोग गर्ने। स्थानीय तहसँग थप आर्थिक सहयोगको लागि सहकार्य गरी करिब २०० नतुवा परिवारहरुलाई आवश्यक लत्ताकपडा र स्टेशनरी उपलब्ध गराउने छ।

रकमः रु २,०२,२०१.७२
कार्यक्षेत्रः कपिलवस्तु, लुम्बिनी प्रदेश

४. नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशन (एनसीसीडीएफ) को उद्देश्य नेपालमा जटिल अवस्थाका बिरामीलाइ दिइने स्वास्थ्य सेवाहरु विकास गर्नु तथा आईसीयू सेवाहरुलाई स्तरोन्नति गर्न मद्दत गर्नु हो। सन् २०२०-२१ मा एनसीसीडीएफले सार्वजनिक अस्पतालहरुलाई ७२ वटा अक्सिजन कन्सन्ट्रेटरहरु वितरण गर्नु को साथै पीपीई तथा मास्क प्रदान गर्‍यो र चिकित्सक तथा नर्सहरुलाई विशिष्टीकृत जटिल बिरामी हेरचाहका विधिहरुको बारेमा तालिम प्रदान गरेको थियो।

प्रयोजनः आईसीयू व्यवस्थापन, भेन्टिलेटर प्रयोग, श्वासप्रश्वास सम्बन्धी हेरचाह तथा बिरामीसँगको सञ्चार जस्ता व्यवसायीक सीपको स्तरोन्नति गर्ने दुई दिने तालिममा सहभागी हुन सुदूर पश्चिम प्रदेशका नर्सहरूलाई छात्रवृत्ति प्रदान गर्न। 

रकमः रु ५,००,०००
कार्यक्षेत्रः सुदूर पश्चिम प्रदेश

५. राष्ट्रिय आविष्कार केन्द्र को लक्ष्य भनेको नेपाली आविष्कारक र उद्यमीहरूलाई विभिन्न किसिमका सहयोग सेवाहरू प्रदान गरी बौद्धिक व्यक्तिहरूको पलायनलाई रोक्न मद्दत गर्नु हो। सन् २०२० मा यस केन्द्रले कोभिड विरुद्धको प्रतिकार्यमा सहभागी हुँदै पीपीई तथा सुरक्षात्मक उपकरणहरू बनाउने तथा फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मीलाई वितरण गर्ने, भेन्टिलेटरहरुको मर्मत गर्ने तथा ग्रामीण भेगमा सानो क्षमतामा अक्सिजन प्लान्ट निर्माण गर्ने तथा जडान गर्ने काम गरेको थियो।

उद्देश्य: प्रदेश १ र गण्डकी प्रदेशलाई केन्द्रित गरी ग्रामीण अस्पतालहरूमा तीनवटा मिनी-अक्सिजन प्लान्टहरू बनाउने र स्थापना गर्ने।

प्रयोजनः ग्रामीण अस्पतालमा सानो स्तरको अक्सिजन प्लान्ट जडान गर्नको लागि उपयोग गर्ने र यस कार्यमा प्रदेश नं १ र गण्डकी प्रदेशलाई विशेष ध्यान दिने। हरेक प्लान्टलाई करिब १९ लाख पर्ने भएकोले यस केन्द्रले सम्बन्धित अस्पतालहरू तथा स्थानीय तहसँग सहकार्य गरी र आवश्यक परेमा आफ्नै पनि केही आर्थिक स्रोतको प्रयोग गरी उक्त परियोजनाको निर्माण गर्ने।

रकमः रु १५,००,०००
कार्यक्षेत्रः प्रदेश नं १ र गण्डकी प्रदेश

६. ओडा फाउन्डेशन लामो समयदेखि स्वास्थ्य सेवा, शिक्षा तथा सामुदायिक परिचालनको क्षेत्रमा काम गरिरहेको छ। सन् २०२० र २१ मा कोभिडको प्रतिकार्य स्वरूप सीमापार आप्रवासी कामदारहरू धेरै रहेको कालिकोटमा ओडाले स्थानीय सरकारसँग नजिकबाट काम गरी एक आइसोलेसन सेन्टरको स्थापना र सञ्चालन गर्यो, कोभिड रोकथामका कार्यक्रमहरु सन्चालन गर्यो र खानाको लागि कामको अवसरहरू प्रदान गर्यो।

प्रयोजनः स्थानीय सरकारको थप सहयोगमा दुई कोठे अन्तरंग बिरामी केन्द्र बनाउने जहाँबाट आर्थिक रूपले कमजोर भएकाहरूलाई स्वास्थ्य सल्लाह तथा सेवाहरू प्रदान गरिनेछ।

रकमः रु १०,००,०००
कार्यक्षेत्रः कालिकोट, कर्णाली प्रदेश

७. सानो पाइला सँग सरकार, निजी क्षेत्र तथा अन्य गैर सरकारी संस्थाहरूले प्रायः बेवास्ता गरेका सामुदायिक समस्याहरूलाई सफलतापूर्वक व्यवस्थापन गरेको अनुभव छ। कोभिडको पहिलो र दोस्रो लहरमा, सानो पाइलाले एकदमै जोखिममा रहेका व्यक्तिहरू माझ सेवा पुर्याउन बहुआयामिक रूपमा काम गरेको थियो। यसले प्रदेश नं २ र सुदूर पश्चिम प्रदेशका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु, दलित तथा अन्य विपन्न समुदायहरुको लागि दैनिक तातो खाना वितरण गरेको थियो। यसले सीमा पारिबाट देश फर्किरहेका आप्रवासीहरूलाई पर्सा र महोत्तरीमा खाना वितरण गराउने, पर्सा र धनुषा जिल्लामा कोभिडका बिरामीहरूलाई पोषण युक्त खाना उपलब्ध गराउने, निषेधाज्ञाको बेलामा आपत्कालीन सामानहरु प्रदान गर्नको लागि एकीकृत सहयोग केन्द्रको सुरुवात गर्ने, तथा प्रदेश २ का सरकारी अस्पतालहरूलाई पीपीई, जाँच गर्ने स्थान तथा भेन्टिलेटरहरु उपलब्ध गराउने काम गरेको थियो। साथै यस संस्थाले कोभिडको बीरामीलाई टेलिमेडिसिन पनि उपलब्ध गराएको थियो।

प्रयोजनः ६ महिनाको लागि टेलिमेडिसिन सेवालाई विस्तार गर्ने। यस विस्तार योजनाले महामारीको यस समयमा अद्यावधिक स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउन डाक्टर तथा प्यारामेडिकलहरुलाई परिचालन गर्नेछ।

रकमः रु ६,००,०००
कार्यक्षेत्रः नेपालभरको लागि टेलिमेडिसिन प्रदान गर्ने

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.