फाउन्डेशनको सुरुवात

उज्वल थापा चाडै नै बिदा भएता पनि उनले छोटो समयमा धेरैलाई प्रभावित गरेका थिए । मानौ, उज्वल एक शरीर मात्र होइन सधै प्रकट भइ रहने विचार हो, सधै झझल्कोमा आई रहने व्यवहार हो र सामुहिक प्रगतिको यात्राको निमित्त नागरिक नेतृत्वको एक प्रस्थान विन्दु हो । 

उज्वलले रोजेको बाटो, उनको सामाजिक -आर्थिक योगदान र राजनीतिक अभियान सबै जिवन्त छन् र तिनको आवश्यकता हामी र हाम्रो समाजलाई छ । सायद त्यही भएर होला, उनैबाट प्रेरित भएका हामी परिवारजन, साथी र अभियन्ताहरु सबैले चरणबद्द छलफलमा सहभागी भै आ-आफ्ना विचार राख्दा उज्वलको सामाजिक रुपान्तरणको यात्रालाई निरन्तर राख्ने निष्कर्ष निस्कियो । र, त्यो निष्कर्ष कार्यान्वयन गर्न एक फाउन्डेशनको आवश्यकता महसुस भयो ।

सहभागितामा विश्वास गर्ने उज्वलको परिपाटीलाई निरन्तरता दिदै उनको परिवारको नेतृत्वमा नेपाल भित्र र बाहिर चार बृहत् छलफल ( दुई प्रत्यक्ष र दुई अप्रत्यक्ष ) र कैयन विचार विमर्शमा प्राप्त सल्लाह सुझावले सो फाउन्डेशनद्वारा उज्वलको सामाजिक- आर्थिक र राजनीतिक विरासत सहितका बहु-आयामिक योगदानलाई अगाडि बढाउन दिशा-निर्देशीत गर्यो । सो अनुरुप उनको परिवार र सहकर्मीहरुको सहकार्यमा कम्पनि ऎन २००६ अन्तर्गत गैर नाफा मुलक संस्था “उज्वल थापा फाउन्डेशन”को स्थापना गरिएको छ । 

हामीलाई विश्वास छ, 
उज्वलले झैँ यस फाउन्डेशनले विवेकशील समाज निर्माण निमित्त नागरिकलाई सदैव प्रेरित गरिरहने छ ।

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.